बिहीबार २९ असोज २०८३
बिजनेस

दुई महिनामा वाणिज्य बैंकको नाफा ७.३२ प्रतिशतले बढ्यो, नबिल सबैभन्दा अगाडि

बुधबार असोज २८, २०८३/ Wednesday 10-14-26

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कुल नाफा ७.३२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकले यस अवधिमा १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए। गत वर्षको तुलनामा यस वर्ष बैंकहरूको नाफा उल्लेख्य रूपमा बढेको हो।

भदौसम्म सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ। बैंकले यस अवधिमा १ अर्ब ८० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ थियो। यससँगै नबिल बैंकको नाफा ३५.३ प्रतिशतले बढेको छ।

नाफा वृद्धिदरका आधारमा भने हिमालयन बैंक अगाडि देखिएको छ। बैंकको नाफा ५५ प्रतिशतभन्दा बढीले वृद्धि भएर ५७ करोड ५१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको साउन र भदौमा बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा सबैभन्दा कम नाफा कमाउने वाणिज्य बैंक नेपाल एसबीआई बैंक रहेको छ। बैंकले ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३५ करोड ४५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार एनआईसी एसिया बैंकको सञ्चित नाफामा भने ठूलो गिरावट देखिएको छ। बैंकको सञ्चित नाफा १० अर्ब ६७ करोड रुपैयाँले घटेको तथ्याङ्कमा उल्लेख छ।

समग्रमा वाणिज्य बैंकहरूको नाफा बढे पनि बैंकपिच्छे नाफाको आकार र वृद्धिदरमा फरक देखिएको छ।

 

तपाईको प्रतिक्रिया