महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव पाँच दिनपछि फेला
कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ।
गत शनिबार दोधारा–चाँदनीस्थित झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेट तार तान्ने क्रममा डुङ्गा अनियन्त्रित भएपछि थारू महाकाली नदीमा बेपत्ता भएका थिए।
घटनापछि सशस्त्र प्रहरीको गोताखोर टोलीले निरन्तर खोजी गरिरहेको थियो। खोजीका क्रममा बुधबार उनको शव बेपत्ता भएको स्थानभन्दा करिब १० देखि १५ मिटर दक्षिणतर्फ अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
उनका अनुसार शव परीक्षणपछि परिवारको जिम्मा लगाइनेछ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–६ निवासी थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा–चाँदनीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।
दुई साताअघि दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो। पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएपछि उक्त तार तान्ने क्रममा दुर्घटना भएको थियो।
तपाईको प्रतिक्रिया