बिहीबार २९ असोज २०८३
समाज

दसैँका लागि घर फर्किनेहरु बढ्दै, दुई दिनमा १ लाख ९ हजारले छाडे राजधानी

बुधबार असोज २८, २०८३/ Wednesday 10-14-26

काठमाडौं । बडादसैँ नजिकिएसँगै दसैँ मनाउन काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँघर फर्किनेको संख्या बढेको छ। यात्रुको चाप बढेसँगै कलंकी, नागढुंगा, थानकोट र उपत्यकाका अन्य प्रमुख नाकामा सार्वजनिक सवारीसाधन तथा यात्रुको चहलपहल बढ्न थालेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ र २६ गते दुई दिनमा मात्रै एक लाख नौ हजार ६३६ जना यात्रुले उपत्यका छाडेका छन्। उपत्यका छाड्नेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला रहेका छन्।

प्रहरीका अनुसार असोज २५ गते ५२ हजार ८२७ जना र असोज २६ गते ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। असोज २७ गतेको यात्रु विवरण भने सार्वजनिक भइसकेको छैन।

अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिसहरू दसैँ मनाउन परिवार र आफन्तकहाँ फर्किन थालेपछि उपत्यकाका बसपार्क तथा बाहिरिने नाकामा यात्रुको चाप बढेको हो। यात्रुहरू आवश्यक सामानसहित आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।

उपत्यकाबाट बाहिरिने यात्रुको चाप नागढुंगा–थानकोट, साँगा र दक्षिणकालीलगायतका नाकामा देखिएको छ। उपलब्ध तथ्यांकअनुसार नागढुंगा नाकाबाट सबैभन्दा बढी २७ हजार ६४९ जना र भक्तपुर नाकाबाट २० हजार ६१५ जना यात्रु बाहिरिएका छन्।

दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। सहायता कक्षमार्फत टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले यात्रुलाई आधिकारिक काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रामा निस्कनुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया