साउदी अरामकोको भवनमा मिसाइल आक्रमण, हुथीसँग तनाव चर्कियो
काठमाडौं । साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै प्रमुख तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ। आक्रमणपछि भवनमा आगलागी भएको र कार्यालयका माथिल्ला तीन तलामा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा मानवीय क्षति भएको विवरण आएको छैन।
साउदी अधिकारीहरूले राजधानी रियादसहित विभिन्न क्षेत्रमा मिसाइल तथा ड्रोन आकाशमै नष्ट गरिएको बताएका छन्। पछिल्लो एक सातादेखि इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबका महत्त्वपूर्ण संरचनालाई लक्षित गरी आक्रमण गरिरहेको रिपोर्टमा उल्लेख छ। यद्यपि, अरामको परिसरमा भएको पछिल्लो आक्रमणको जिम्मेवारी कसले लिएको हो भन्ने स्वतन्त्र पुष्टि भएको छैन।
यसैबीच, इरानले साउदी अरब र हुथी विद्रोहीबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको छ। साउदी अरबले भने हुथी आक्रमणको प्रतिकार गर्न सैन्य अभियान जारी राख्ने र सहयोगी राष्ट्रबाट समर्थन जुटाउने प्रयास गरिरहेको छ।
तपाईको प्रतिक्रिया