बिहीबार २९ असोज २०८३
राजनीति

१० राजदूतको नाम अनुमोदन, साउदी अरबका लागि प्रस्तावित सुनार अस्वीकृत

बुधबार असोज २८, २०८३/ Wednesday 10-14-26

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। समितिको बुधबार बसेको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने अस्वीकृत गरेको हो।

समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जीवी थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरू जोशीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला कुमारी झाको नाम पनि समितिले अनुमोदन गरेको छ।

समिति सभापति बोधनारायण श्रेष्ठले बैठकबाट १० जना प्रस्तावित राजदूतको नाम अनुमोदन भएको जानकारी दिए। साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ।

यससँगै १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन भएको छ भने साउदी अरबका लागि प्रस्तावितसहित अन्य दुई जनाको नाम अनुमोदन हुन नसकेको छ।

 

तपाईको प्रतिक्रिया