शनिबार ३१ असोज २०८३
समाज

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

शुक्रबार असोज ३०, २०८३/ Friday 10-16-26

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्ये छैटौँ स्वरूप कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार कात्यायन ऋषिले देवीलाई पुत्रीका रूपमा स्वीकार गरेकाले उहाँको नाम कात्यायनी रहन गएको हो।

नवरात्रका नौ दिन देवी दुर्गाका विभिन्न स्वरूपको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको आराधना गर्ने परम्परा छ। त्यसपछि कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ।

नवरात्रका अवसरमा घरघरमा घटस्थापना गरी जमरा राख्ने, दुर्गा सप्तशती तथा देवी स्तोत्र पाठ गर्ने र शक्तिपीठहरूमा पूजाआजा गर्ने गरिन्छ। देवीको आराधनाबाट शक्ति, समृद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ।

नवरात्रका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा भगवतीका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको छ। गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, मनकामना, पाथीभरा, बडीमालिका र विन्ध्यवासिनीलगायत शक्तिपीठमा भक्तजन पुग्ने गरेका छन्।

नवरात्रमा पूजा गरिएका जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। यद्यपि, कतिपय समुदायमा कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका र जमरा लगाउने चलन पनि छ।

 

तपाईको प्रतिक्रिया