जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले आज मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन्।
एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मन्त्रीहरूले राजीनामा बुझाउनुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी दिएका छन्।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्।
मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। वर्तमान सत्ता गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टीसमेत सहभागी छ।
नयाँ सरकार गठनका लागि राजनीतिक समीकरण मिलाउने प्रयासस्वरूप एमालेले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने कदम चालेको हो। एमालेको यो निर्णयसँगै मधेश प्रदेशको सत्ता समीकरणमा फेरबदल हुने सम्भावना बढेको छ।
तपाईको प्रतिक्रिया