शनिबार ३१ असोज २०८३
समाज

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

शुक्रबार असोज ३०, २०८३/ Friday 10-16-26

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बेपत्ता व्यक्तिको अवस्था यकिन गरी कानुनी प्रक्रिया पूरा गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको विशेष प्रक्रियाअनुसार बेपत्ताको विवरण सङ्कलन, प्रमाणीकरण र अन्तिम निर्णय गरिनेछ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्नेछन्। बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य उपलब्ध नभएमा वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ।

प्राप्त निवेदनमाथि वडा समितिले जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्नेछ। त्यसपछि स्थानीय तहले तीन दिनको दाबीविरोधको समय दिएर अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ। जिल्ला विपद् व्यवस्थापन समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको छ।

नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश तथा विशेष प्रक्रिया, २०८३ अनुसार बेपत्ताको विवरण प्रमाणीकरण गर्न लागिएको हो।

निर्धारित कार्यतालिकाअनुसार बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ गतेभित्र सम्बन्धित पालिकामा पेस गर्नुपर्नेछ। स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित अन्तिम विवरण कात्तिक १८ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाउनुपर्नेछ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशी बाढीपछि काभ्रेपलाञ्चोकका ३७ जना अझै सम्पर्कविहीन छन्। बाढीमा परी चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने बेपत्ता भएका अन्य चार जना परिवारको सम्पर्कमा आएका छन्।

बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने प्रक्रिया पूरा भएपछि उनीहरूको कानुनी अवस्था यकिन गर्न सहज हुने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया