बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। पुलहरूको मर्मतमा करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीले त्रिशूली करिडोरका विभिन्न स्थानमा रहेका पुलमा क्षति पुर्याएको थियो। कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले सबै पुलको मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।
क्षतिग्रस्त पुलमध्ये ११ वटामा बढी क्षति पुगेको थियो। बाढीले पुलका लट्ठा बटार्ने, डेक तथा बिम बगाउने र छेउमा लगाइएका जालीमा क्षति पुर्याएको थियो। ती पुलमा लट्ठा सोझ्याउने, ह्यान्डरेलका केबल फेर्ने तथा नयाँ स्टिल डेक, बिम र जाली जडान गरेर मर्मत गरिएको छ। बाँकी सातवटा पुलमा सामान्य मर्मत गरिएको कार्यालयले जनाएको छ।
व्यापक मर्मत गरिएका पुलमा नुवाकोट र धादिङ जोड्ने पिमलटार जागाराम, फोस्रेटार, जिलिङ, केउरेनी गहते, सिद्धलेक–गजुरी, महेशदोभान मास्टार, शीतलबजार क्युरेनीटार र कोल्पु कल्लेरीघाटलगायतका पुल छन्। गोरखा र धादिङ जोड्ने तथा आसपासका अन्य प्रभावित पुलको समेत मर्मत गरिएको छ।
त्यसैगरी, गोरखाको गण्डकी गाउँपालिका–८ र धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ जोड्ने बादरे झोलुङ्गे पुलमा सामान्य मर्मत गरिएको छ। धादिङका बिहानी पम्प, मलेखु, बेल्खु भुतिया र महादेवस्थान पुल तथा गोरखा–चितवन जोड्ने कुरिनटार (लेवाटार) र फिस्लिङ झोलुङ्गे पुल पनि मर्मतपछि सञ्चालनमा आएका छन्।
पुलहरू सञ्चालनमा आएसँगै नदीपारिका बस्तीबीच आवतजावत गर्न स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा गरिएको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मतले स्थानीयको दैनिक आवागमन तथा ग्रामीण क्षेत्रको सम्पर्क पुनःस्थापित गर्न सहयोग पुग्नेछ।
तपाईको प्रतिक्रिया