काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतको विदेश मन्त्रालयले शुक्रबार उनको नियुक्तिबारे औपचारिक घोषणा गरेको हो। दलेलाले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनी यसअघि सन् २०२२ देखि २०२५ सम्म भुट्टानका लागि भारतको राजदूतका रूपमा कार्यरत थिए।
दलेलाले भारतको प्रधानमन्त्री कार्यालयमा सन् २००९ देखि २०११ सम्म निर्देशकको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै, विदेश मन्त्रालयको उत्तरी महाशाखामा सन् २००६ देखि २००७ सम्म निर्देशक र सन् २०१६ देखि २०१९ सम्म संयुक्त सचिवका रूपमा काम गरेका थिए। उक्त महाशाखाले नेपाल र भुटानसँगको सम्बन्धसम्बन्धी विषय हेर्छ।
उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, स्विट्जरल्यान्ड र भुटानलगायतका देशमा रहेका भारतीय कूटनीतिक नियोगमा समेत काम गरिसकेका छन्। व्यापार नीति तथा विश्व व्यापार संगठनसम्बन्धी विषयमा पनि उनको अनुभव छ।
नेपालका लागि भारतको राजदूतका रूपमा दलेलाको नियुक्तिसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, ऊर्जा र क्षेत्रीय साझेदारीका विषयमा उनको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
दलेलाले नेपालका लागि भारतका निवर्तमान राजदूत नवीन श्रीवास्तवको स्थान लिनेछन्।
तपाईको प्रतिक्रिया