महानवमीमा सवारीसाधन पूजा गर्न भद्रकालीमा भक्तजनको भीड
काठमाडौँ । बडादसैँअन्तर्गत महानवमी पर्वका अवसरमा आज काठमाडौँको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन तथा विभिन्न औजारको पूजा गर्नेहरूको बिहानैदेखि भीड लागेको छ।
महानवमीका दिन सवारीसाधन, उद्योग, कलकारखाना तथा विभिन्न पेसा–व्यवसायमा प्रयोग हुने उपकरणको विशेष पूजाआराधना गर्ने परम्पराअनुसार भद्रकाली मन्दिरमा श्रद्धालुहरूको चहलपहल बढेको हो।
बिहानैदेखि मोटरसाइकल, कार, ट्याक्सी, बसलगायत विभिन्न सवारीसाधन लिएर मन्दिर पुगेका चालक तथा सवारीधनीहरूले विधिपूर्वक पूजा गरेका छन्। उनीहरूले सवारीसाधनमा टीका, अक्षता र फूल चढाउँदै दुर्घटनाबाट सुरक्षा, यात्राको सफलता तथा व्यवसायमा उन्नतिको कामना गरेका छन्।
धार्मिक विश्वासअनुसार महानवमीका दिन सवारीसाधन तथा काममा प्रयोग हुने औजारको पूजा गर्दा अनिष्ट टर्ने, दुर्घटनाको जोखिम कम हुने र कार्यक्षेत्रमा सफलता प्राप्त हुने मान्यता रहिआएको छ।
यसै विश्वासका आधारमा यातायात व्यवसायी, चालक, प्राविधिक, मिस्त्री तथा उद्योग–व्यवसायमा संलग्न व्यक्तिहरूले आफ्ना सवारीसाधन, मेसिनरी उपकरण र औजारको विशेष पूजा गर्ने गर्दछन्।
महानवमीका अवसरमा सवारीसाधनको पूजा गर्नेहरूको सङ्ख्या बढेसँगै भद्रकाली मन्दिर परिसर तथा आसपासका सडकमा बिहानैदेखि सवारीसाधनको चापसमेत बढेको छ।
महानवमीमा शक्तिस्वरूपा नवदुर्गा भवानीको आराधनासँगै दैनिक जीवन तथा पेसा–व्यवसायमा प्रयोग हुने साधन र उपकरणप्रति सम्मान प्रकट गर्ने सांस्कृतिक परम्परा रहिआएको छ।
तपाईको प्रतिक्रिया