बुधबार ४ कार्तिक २०८३
खेलकुद

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने, थ्रीडी बल ट्र्याकिङदेखि एआईसम्मको सुविधा

मंगलबार कार्तिक ३, २०८३/ Tuesday 10-20-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत आगामी संस्करणमा डीआरएससहित विभिन्न अत्याधुनिक प्रविधि प्रयोग गरिने जानकारी दिएको हो।

यसअघि एनपीएलका दुई संस्करण डीआरएसबिनै सञ्चालन भएका थिए। तेस्रो संस्करणमा भने अम्पायरको निर्णय पुनरावलोकन गर्न सकिने प्रविधि भित्र्याउन लागिएको हो।

डीआरएस क्रिकेटमा अम्पायरले दिएको निर्णयप्रति असहमति जनाउँदै खेलाडीले पुनरावलोकनको माग गर्न सक्ने प्रणाली हो। यसले विवादास्पद निर्णयको परीक्षण गर्न र खेलमा निष्पक्षता कायम गर्न सहयोग पुर्‍याउँछ।

क्यानका अनुसार यसपटक एलबीडब्लूको निर्णय पुनरावलोकनका लागि पूर्ण त्रिआयामिक (थ्रीडी) बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यसबाट बलको दिशा, गति र सम्भावित मार्गको विश्लेषण गर्न सकिनेछ।

त्यस्तै, रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णय पनि प्रविधिको सहायताले पुनरावलोकन गर्न सकिने व्यवस्था मिलाइनेछ।

यसका अतिरिक्त कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित प्रविधिबाट बल ब्याटमा छोएको वा नछोएको पत्ता लगाउने सुविधा उपलब्ध हुनेछ।

बलको उचाइका आधारमा वाइडको निर्णय, ब्याटरले प्रहार गरेको छक्काको दूरी तथा उचाइ मापन र बलिङसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण गर्ने प्रविधिसमेत प्रयोग गरिने क्यानले जनाएको छ।

डीआरएससहितका आधुनिक प्रविधिको प्रयोगले एनपीएलमा अम्पायरिङको गुणस्तर सुधार हुनुका साथै खेलको विश्वसनीयता र प्रतिस्पर्धात्मक स्तर बढ्ने अपेक्षा गरिएको छ।

नेपाली फ्रेन्चाइज क्रिकेटको प्रमुख प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको एनपीएलमा अत्याधुनिक प्रविधिको प्रवेशलाई प्रतियोगिताको प्राविधिक स्तरोन्नतिका रूपमा हेरिएको छ।

 

तपाईको प्रतिक्रिया