क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने, भारत ‘ए’ सँगको शृङ्खलाको तालिका फेरिने
काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।
प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम चार स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगिताबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
प्लेअफमा सहभागी हुने आठ टोलीमध्ये नेपाल, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) लिग–२ बाट छनोट हुने निश्चित भएको छ। यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले स्थान पक्का गरेका छन्।
च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट प्लेअफमा पुग्ने निश्चित भएको छ भने कुवेतको सम्भावना पनि बलियो रहेको छ। लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोली प्लेअफमा पुग्नेछ। बाँकी टोलीको टुङ्गो लाग्न भने केही खेलको नतिजा कुर्नुपर्नेछ।
नेपालमा विश्वकप छनोट प्लेअफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।
क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको समन्वय र सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।
तपाईको प्रतिक्रिया