बाँकेमा विद्युत् सर्ट भएर आगलागी हुँदा सात घर जलेर नष्ट
बाँके । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
आगलागी नियन्त्रणका लागि कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल परिचालन गरिएको थियो। दमकल र सुरक्षाकर्मीको प्रयासपछि दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट स्थानीय साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्णरूपमा जलेका छन्। त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि जलेर नष्ट भएका छन्।
यसैगरी, महेश खानको पक्की घरको एउटा झ्यालमा आगलागीबाट क्षति पुगेको छ।
प्रहरीका अनुसार घटनामा कुनै मानवीय तथा चौपाया क्षति भएको छैन। आगलागीबाट भएको अन्य क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया