नेवार समुदायमा दसैँको कालो टीकाको विशेष महत्त्व, यस्तो छ ‘मोहनि नखः’को परम्परा
काठमाडौं । नेवार समुदायमा दसैँलाई ‘मोहनि नखः’ का रूपमा मनाउने विशिष्ट परम्परा छ। यस अवसरमा रातो टीकासँगै लगाइने कालो टीका अर्थात् ‘मोहनि सिन्ह’ नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र पहिचानसँग जोडिएको छ।
परम्पराअनुसार, तोरीको तेल राखिएको पालामा लगातार तीन दिनसम्म दियो बाल्ने गरिन्छ। दियोबाट निस्कने धुवाँको कालो पदार्थ माटोको सलीमा जम्मा गरेर मोहनि सिन्ह तयार पारिन्छ। दसैँको विजयादशमीका दिन परिवारका सदस्यले विधिपूर्वक दर्शन गरेपछि यो टीका लगाउने चलन रहेको छ।
धार्मिक विश्वासअनुसार, मोहनि सिन्हमा भगवानको आकृति देखिने मान्यता छ। नेवार समुदायमा यसलाई असत्यमाथि सत्यको विजय र धार्मिक आस्थाको प्रतीकका रूपमा लिने गरिन्छ।
मोहनि सिन्ह निधारमा लगाइने रातो चामलको टीका ‘भ्वइ सिन्ह’ को ठीक तल लगाउने परम्परा छ। रातो र कालो टीका लगाउने यो मौलिक शैलीले नेवार समुदायको सांस्कृतिक विशिष्टतालाई झल्काउँछ।
नेवार समुदायको दसैँ केवल पर्व मनाउने अवसर मात्र नभई पारिवारिक एकता, सामाजिक सद्भाव र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदाको संरक्षण गर्ने महत्त्वपूर्ण अवसर पनि हो।
यसरी मोहनि नखःसँग जोडिएको कालो टीकाको परम्पराले नेवार समुदायको मौलिक पहिचान र सांस्कृतिक निरन्तरतालाई जीवन्त राख्दै आएको छ।
तपाईको प्रतिक्रिया