बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। आगलागीमा परी क्यान्टिनमा काम गर्दै आएका गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगलागीको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
यसैगरी, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालको मार्बल तथा टाइल्स गोदाममा समेत सामान्य आगलागी भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया