एनपीएलको टिकट मूल्य सार्वजनिक, लिग चरणमा ५०० देखि १ हजार रुपैयाँसम्म
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले लिग चरणदेखि नकआउट चरण र फाइनलसम्मका खेलका लागि फरक–फरक दर निर्धारण गरेको हो।
आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।
क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगिताका सबै खेलको टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा टिकट बिक्रीसम्बन्धी जानकारी दिइएको हो।

तपाईको प्रतिक्रिया