तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। बिहीबार राति गएको ७ म्याग्निच्यूडको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा पर्ने नागकु क्षेत्रको बाछेन काउन्टीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्। प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइ भइरहेको छ।
समुद्री सतहबाट करिब ४ हजार ८०० मिटर उचाइमा रहेका दुर्गम गाउँहरू बढी प्रभावित भएका छन्। भौगोलिक विकटताका कारण उद्धार टोलीलाई प्रभावित बस्तीमा पुग्न समस्या भइरहेको बताइएको छ।
चिनियाँ अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार टोली परिचालन गरेका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
सन् २०२३ मा छिमेकी गान्सु प्रान्तमा ६.२ म्याग्निच्यूडको भूकम्प जाँदा १२० जनाको मृत्यु भएको थियो। त्यसयता चीनमा गएको सबैभन्दा घातक भूकम्पका रूपमा यस घटनालाई लिइएको छ।
तपाईको प्रतिक्रिया