शुक्रबार ६ कार्तिक २०८३
माैसम

साताको अन्त्यमा भारी वर्षा र हिमपातको सम्भावना, चिसो घट्ने

शुक्रबार कार्तिक ६, २०८३/ Friday 10-23-26

काठमाडौँ । बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साताको अन्त्यमा देशका विभिन्न भू–भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् राजन महर्जनका अनुसार साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने अन्त्यतिर बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीका कारण मौसममा परिवर्तन आउनेछ ।

साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यम हिमपात हुने सम्भावना छ । ती प्रदेशका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात हुनसक्ने महर्जनले बताए । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना रहेको छ ।

साताको सुरु र मध्यमा भने सबै प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

साताको सुरु र मध्यमा सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्नेछ । तर, साताको अन्त्यमा पहाडी क्षेत्रमा वर्षाको सम्भावना बढ्ने महाशाखाले जनाएको छ ।

यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ ।

तराईमा पनि वर्षा हुने पूर्वानुमान

साताको सुरु र मध्यमा तराई क्षेत्रमा वर्षाको सम्भावना नरहे पनि अन्त्यतिर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।

उनका अनुसार बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने केही स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ ।

 

तपाईको प्रतिक्रिया