बुधबार ११ कार्तिक २०८३
राजनीति

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १ करोडभन्दा बढी बिगो मागदाबी

मंगलबार कार्तिक १०, २०८३/ Tuesday 10-27-26

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार, ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा रकम हिनामिना गरेको, सम्झौता नगरी अग्रिम राजस्व असुल गरेको तथा संकलित राजस्वको बाँकी रकम असुल नगरेको आरोप उनीहरूमाथि छ ।

आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिका–६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबाट राजस्व संकलन गर्ने जिम्मेवारी ठेकेदार यादवलाई अमानतमा दिइएको थियो । तर, नगर कार्यपालिकाको निर्णय र प्रचलित कानुनी व्यवस्थाविपरीत राजस्वमा छुट दिइएको तथा संकलनमा अनियमितता भएको अख्तियारको ठहर छ ।

आयोगका अनुसार, नगरसभाबाट मात्रै निर्णय गर्न मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरिएको थियो । त्यसैगरी, अमानतमा संकलन गर्नुपर्ने राजस्व ठेकेदारलाई जिम्मा दिइएको र असुल गर्नुपर्ने रकमसमेत असुल नगर्दा सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुगेको आरोपपत्रमा उल्लेख छ ।

कसको बिगो कति?

अख्तियारले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ ।

त्यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो र राजस्व शाखा प्रमुख दिनेश कुमार सहनीविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबी गरिएको छ ।

ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध पनि १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरिएको आयोगले जनाएको छ ।

आयोगले सरकारी राजस्वमा हानि–नोक्सानी पुर्‍याएको र गैरकानुनी लाभ लिएको आरोपमा उनीहरूलाई कानुनअनुसार सजाय गर्न माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया