आजदेखि मौसम बदली, बिहीबारदेखि भारी वर्षाको सम्भावना
काठमाडौं। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा आजदेखि देखिने भएको छ । यसको प्रभावले आजदेखि मौसम बदली हुने र शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बुधबार देशका अधिकांश स्थानमा बादल लाग्नेछ । आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुने सम्भावना छ । यस्तै, बागमती, गण्डकी र मधेश प्रदेशका विभिन्न स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
विशेषगरी शुक्रबार र शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सकेसम्म लामो दूरीको यात्रा नगर्न र पदयात्राका कार्यक्रम स्थगित गर्न सुझाव दिइएको छ ।
मौसम प्रतिकूल हुने सम्भावनालाई मध्यनजर गर्दै किसानलाई पाकेको धानबाली सुरक्षित गर्न पनि आग्रह गरिएको छ । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले खेतमा पाकेको धान काटिसकेको भए तत्काल भित्र्याउन र काट्न बाँकी रहेको धान मौसम खुलेपछि मात्र काट्न तथा सुरक्षित भण्डारण गर्न सुझाव दिएको छ ।
भारतीय मौसम विभागका अनुसार अर्नब चक्रवात भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गरेको छ । नेपाल आइपुग्दा चक्रवातको तीव्रता घट्ने भए पनि त्यसको प्रभावले वर्षा र हिमपात गराउन सक्ने अनुमान गरिएको छ ।
शनिबारसम्म चक्रवातको प्रभाव पूर्वी क्षेत्रमा केन्द्रित हुने र त्यसको तीव्रता क्रमशः घट्दै जाने महाशाखाको अनुमान छ । त्यसपछि मौसममा क्रमिक सुधार हुँदै जाने अपेक्षा गरिएको छ ।
यसअघि असोजमा पनि बंगालको खाडीमा चक्रवात विकसित हुन सक्ने अनुमान गरिएको थियो । तर, त्यसले चक्रवातको पूर्ण रूप लिन सकेन । यद्यपि, असोज ९ देखि ११ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षा भएको थियो ।
तपाईको प्रतिक्रिया