कलंकीका दुई घरमा चोरी, सुनचाँदी र नगदसहित चार भारतीय पक्राउ
काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा चोरी गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई चोरीका सुनचाँदीका गरगहना र नगदसहित नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा भारतको बिहार राज्यअन्तर्गत समस्तीपुरको खेसराहा घर भई हाल काठमाडौंको कालीमाटीमा बस्दै आएका चार जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजुकुमार भन्ने राजु पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले कात्तिक ७ गते कलंकीस्थित तासिङडोल मार्गमा रहेको उर्मिला भन्ने सीता थपलियाको फ्ल्याटमा चोरी गरेका थिए। फ्ल्याटमा कोही नभएको मौका छोपेर ढोकाको ताला फोडी नगद तथा सुनचाँदीका गरगहनालगायतका सामान चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यसअघि कात्तिक ६ गते बिहान उनीहरूले कलंकीको रञ्जित कोलोनीस्थित नीरञ्जन नेपालको घरमा समेत चोरी गरेको प्रहरीको भनाइ छ। लगातार दुई दिन फरक–फरक घरमा चोरीका घटना भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार अनुसन्धानका क्रममा चारै जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट चोरी गरिएका सुनचाँदीका गरगहना र नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया