बुधबार ११ कार्तिक २०८३
बिश्वो

साउदी अरबमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

मंगलबार कार्तिक १०, २०८३/ Tuesday 10-27-26

काठमाडौं । साउदी अरबमा सुरक्षा जोखिम बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ ।

रियादस्थित नेपाली दूतावासले सूचना जारी गर्दै नेपाली नागरिकलाई पछिल्लो सुरक्षा अवस्थाबारे सचेत रहन तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अपिल गरेको हो ।

दूतावासले साउदी अरबका सुरक्षा निकाय तथा सम्बन्धित आधिकारिक निकायबाट जारी निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक तथा अपुष्ट सूचना, तस्बिर र भिडियो पोस्ट वा सेयर नगर्न पनि सचेत गराएको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई उडान तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र यात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।

त्यस्तै, कुनै आपत्कालीन अवस्था वा समस्या आइपरेमा रियादस्थित नेपाली राजदूतावास तथा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

साउदी अरबमा करिब चार लाख नेपाली

अनुमानअनुसार साउदी अरबमा करिब चार लाख नेपाली श्रमिक कार्यरत छन् । रोजगारीका लागि हरेक वर्ष ठूलो संख्यामा नेपाली साउदी अरब जाने गरेका छन् ।

यसैबीच, यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थल, तेल प्रतिष्ठान तथा अन्य महत्त्वपूर्ण संरचनालाई लक्षित गरी आक्रमण गरिरहेको विवरण सार्वजनिक भएका छन् । यसले क्षेत्रीय सुरक्षा अवस्थाप्रति चिन्ता बढाएको छ ।

सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै दूतावासले त्यहाँ रहेका नेपालीलाई आधिकारिक सूचनामा ध्यान दिन, सतर्कता अपनाउन र जोखिमपूर्ण गतिविधिबाट टाढा रहन आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया