बुधबार ११ कार्तिक २०८३
मनोरन्जन

प्रदर्शनअघि नै ‘रामायण’को अग्रिम टिकट बिक्री २० करोड भारु पार

मंगलबार कार्तिक १०, २०८३/ Tuesday 10-27-26

काठमाडौं । बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा उत्साहजनक संकेत देखाएको छ । प्रदर्शन हुनुअघि नै फिल्मले विश्वभर अग्रिम टिकट बिक्रीबाट २० करोड भारुभन्दा बढी आम्दानी गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अक्टोबर २५ सम्मको अग्रिम बुकिङले उक्त आँकडा पार गरेको हो । नितेश तिवारीको निर्देशनमा बनेको फिल्म नोभेम्बर ५ (कात्तिक १९), २०२६ मा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

रणवीर कपुर, यश र साई पल्लवी मुख्य भूमिकामा रहेको फिल्मप्रति भारतदेखि उत्तर अमेरिकासम्म दर्शकको आकर्षण देखिएको छ ।

हिन्दी संस्करणको अग्रिम बुकिङ बलियो

भारतमा मात्रै फिल्मको अग्रिम टिकट बिक्रीबाट १० करोड भारुभन्दा बढी आम्दानी भएको बताइएको छ । प्रदर्शनको पहिलो दिनका लागि दुई लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन् ।

भाषागत संस्करणमध्ये हिन्दीमा सबैभन्दा बढी अग्रिम बुकिङ भएको छ । भारतमा भएको कुल अग्रिम टिकट बिक्रीमध्ये हिन्दी संस्करणको हिस्सा करिब ८७ प्रतिशत रहेको जनाइएको छ ।

त्यस्तै, कन्नड संस्करणको अग्रिम बुकिङ एक करोड भारुभन्दा बढी पुगेको छ भने तेलुगु संस्करणको अग्रिम टिकट बिक्री करिब ४० लाख भारु बराबर रहेको बताइएको छ ।

उत्तर अमेरिकामा पनि फिल्मको अग्रिम टिकट बिक्री उत्साहजनक देखिएको छ । विशेष शो तथा नियमित प्रदर्शनका लागि टिकट बुकिङ बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रामको भूमिकामा रणवीर, रावणमा यश

भारतीय महाकाव्य रामायणमा आधारित फिल्ममा रणवीर कपुर भगवान् रामको भूमिकामा देखिनेछन् । साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन् ।

त्यस्तै, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा प्रस्तुत हुनेछन् ।

ठूलो बजेटमा दुई भागमा निर्माण भइरहेको फिल्मको दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

 

तपाईको प्रतिक्रिया