बुधबार ११ कार्तिक २०८३
खेलकुद

कर्णालीलाई जनकपुरको झट्का, १०४ रन बनाउँदा ७ विकेट गुम्यो

मंगलबार कार्तिक १०, २०८३/ Tuesday 10-27-26

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले १७ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १०४ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको कर्णालीले अपेक्षाअनुसार रन गति बढाउन सकेको छैन।

कर्णालीका लागि पवन सर्राफ २७ रन बनाएर क्रिजमा छन्। उनले २९ बलमा दुई छक्का प्रहार गरेका छन्। नन्दन यादव भने खाता नखोली क्रिजमा छन्।

कर्णालीका सोमपाल कामी एक रनमा आउट भए। उनलाई हरमित सिंहले एलबीडब्लू आउट गराए। गुल्सन झाले नौ बलमा एक चौका र एक छक्कासहित १२ रन बनाएर विकेट गुमाए।

जनकपुरका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएका छन्। उनले चार ओभरमा २२ रन खर्चिए। मोइन अलीले चार ओभरमा १९ रन दिएर दुई विकेट हात पारेका छन्।

खेलको पछिल्लो अवस्थाअनुसार कर्णालीले तीन ओभर बाँकी रहँदा सम्मानजनक योगफल खडा गर्न थप रन बनाउनुपर्ने दबाब छ।

तपाईको प्रतिक्रिया