सोमबार १६ कार्तिक २०८३
समाज

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध ८ उजुरी

आइतबार कार्तिक १५, २०८३/ Sunday 11-01-26

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठवटा उजुरी परेका छन् ।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार प्राप्त उजुरीमध्ये अधिकांश सैद्धान्तिक विषयसँग सम्बन्धित छन् भने एक–दुईवटा मात्र तथ्यमा आधारित छन् ।

समितिले गत कात्तिक ९ गते प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको थियो । शुक्रबारसम्म आठवटा उजुरी प्राप्त भएको र उजुरी दिने अन्तिम म्याद कात्तिक १९ गतेसम्म रहेकाले संख्या थपिन सक्ने समितिले जनाएको छ ।

न्याय परिषद्को गत असोज २० गते बसेको बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे तथा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत र सर्वोच्च अदालतमा काजमा रहेका न्यायाधीश गोकर्ण डाँगी रहेका छन् ।

तपाईको प्रतिक्रिया