अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का, दुवै सदनमा डेमोक्रेटिकको अग्रता
काठमाडौं । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको संकेत गरेको छ। अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटमा रिपब्लिकन पार्टीको एक सिटसमेत खोसेको छ।
प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै रातिको पहिलो सफलता हात पारेको छ। त्यस्तै, जर्जियाबाट डेमोक्रेटिक सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन्।
यस निर्वाचनमा अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका ३५ सिट तथा विभिन्न राज्यका गभर्नर र स्थानीय तहका पदका लागि प्रतिस्पर्धा भएको थियो। निर्वाचन यही कात्तिक १७ गते सम्पन्न भएको हो।
अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको मध्यभागमा हुने संसदीय निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ। यस निर्वाचनबाट राष्ट्रपति परिवर्तन हुँदैन, तर संसद्का दुवै सदनमा कुन दलको बहुमत रहने भन्ने निर्धारण हुन्छ।
सन् २०२६ को मध्यावधि निर्वाचन राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको बीचमा भएको हो। त्यसैले यसलाई उनको प्रशासनको कार्यसम्पादनप्रति अमेरिकी मतदाताको धारणा बुझ्ने महत्त्वपूर्ण राजनीतिक परीक्षणका रूपमा हेरिएको छ।
निर्वाचनको अन्तिम नतिजाले आगामी दुई वर्ष ट्रम्प प्रशासनलाई संसद्मा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहज वा चुनौतीपूर्ण हुन्छ भन्ने निर्धारण गर्नेछ। विशेषगरी दुवै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण स्थापित भएमा राष्ट्रपति ट्रम्पका विधेयक तथा राजनीतिक एजेन्डा अघि बढाउन थप चुनौती हुन सक्नेछ।
तपाईको प्रतिक्रिया