काठमाडौं। यस वर्षको तिहार अर्थात् भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाका लागि बिहान ११:०७ बजेको साइत निर्धारण गरेको हो।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ।
समितिले सार्वजनिक गरेको पात्रोअनुसार यस वर्ष यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ।

कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धनतेरस) मनाइनेछ भने साँझ यमदीपदान गरिनेछ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी तथा कुकुर तिहार मनाइनेछ भने साँझ लक्ष्मीपूजा गरिनेछ।
कात्तिक २३ गते सोमबार गाईपूजा र कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने समितिले जनाएको छ।
तपाईको प्रतिक्रिया