काठमाडौं । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनायो ।
विराटनगरका लागि इमरान शेखले ५६ र लोकेश बमले ५० रनको योगदान दिए । एनपीएलको इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो पटक हो ।
इमरानले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए । त्यस्तै, लोकेशले ४० बलको सामना गर्दै समान ३ चौका र ३ छक्कासहित ५० रन जोडे ।
ओपनर शेहान जयासूर्य २ रनमै आउट भएपछि क्रिजमा आएका इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको महत्त्वपूर्ण साझेदारी गरे । जारी सिजनमा यो पहिलो शतकीय साझेदारीसमेत हो ।
त्यसपछि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै अविजित ५२ रन बनाए । उनले २९ बलमा २ चौका र ५ छक्का प्रहार गरे । शुभम रञ्जाने ७ रनमा अविजित रहे ।
जनकपुरका बलरमध्ये अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।
तपाईको प्रतिक्रिया