भारतका नवनियुक्त राजदूत सुधाकर दलेला नेपाल आइपुगे
काठमाडौँ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौँ आइपुगेका छन् । यसअघिका राजदूत नवीन श्रीवास्तवको कार्यकाल पूरा भएपछि भारत सरकारले दलेलालाई उनको उत्तराधिकारीका रूपमा नियुक्त गरेको हो ।
भारतले राजदूतका लागि दलेलाको नाम प्रस्ताव गरेपछि नेपाल सरकारले नियुक्तिका लागि सहमति दिएको थियो । त्यसपछि भारतले औपचारिक नियुक्ति गरी उनलाई नेपाल पठाएको हो ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलासँग लामो कूटनीतिक अनुभव छ । उनले इजरायलबाट आफ्नो कूटनीतिक यात्रा सुरु गरेका थिए ।
दलेलाले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् । उनी भुटानका लागि भारतीय राजदूतसमेत भइसकेका छन् ।
यसअघि सन् २०२५ सेप्टेम्बरदेखि उनी भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नयाँ राजदूतलाई नेपाल पठाएको हो ।
तपाईको प्रतिक्रिया