काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीले ५० बल बाँकी छँदै जित निकालेको हो।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। नटआउट रहेका निरोशन डिकवेलाले २७ रन जोडे। डार्सी सर्टले १३ तथा आसिफ शेखले ७ रन बनाए।
बलिङतर्फ पोखराका बिपिन खत्रीले १ विकेट लिए भने आसिफ शेख रनआउट भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो।
पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। कुशल भुर्तेलले १४, मेहेदी हसनले १३, किरण ठगुन्नाले १२ तथा सादिरा समरविक्रमाले ७ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पोखरालाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए। तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेक गौतम र कप्तान रोहित पौडेलले समान १ विकेट हात पारे।
सानदार बलिङ प्रदर्शन गरेका लुम्बिनीका रुबेन ट्रम्पलम्यान प्लेयर अफ द म्याच घोषित भए।
तपाईको प्रतिक्रिया