एनपीएलमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे। विशाल सुशलिङले ३० बलमा ४३ रन तथा जेम्स निशमले १५ बलमा २७ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
विराटनगरका आन्द्रे रसेलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा ४५ रन खर्चिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो।
विराटनगरका इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्कासहित ५६ रन बनाए। लोकेश बमले ४० बलमा ५० रन जोड्दा आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए। उनले २ चौका र ५ छक्का प्रहार गरे।
जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका विराटनगरका आन्द्रे रसेल प्लेयर अफ द म्याच घोषित भए।
तपाईको प्रतिक्रिया