बुधबार १८ कार्तिक २०८३
राजनीति

भारतीय विदेश सचिव आज नेपाल आउँदै, प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्ने

बुधबार कार्तिक १८, २०८३/ Wednesday 11-04-26

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउँदै छन्। उनको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणका क्रममा मिस्रीले नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल र भारतबीच लामो समयदेखि मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्ध रहँदै आएको छ। विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार हुँदै गएको उल्लेख गर्दै मन्त्रालयले मिस्रीको भ्रमणले उच्चस्तरीय कूटनीतिक आदानप्रदानलाई निरन्तरता दिनुका साथै द्विपक्षीय साझेदारी थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा रहेको बताइएको छ। भ्रमणबारे औपचारिक घोषणा नभए पनि नेपाल र भारत दुवै पक्षले आवश्यक तयारी गरिरहेको स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गरिरहेका छन्। भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री शाहबीच हुने भेटवार्तापछि दुवै पक्षको सहमतिमा भ्रमणको मिति तय गरिने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्।

 

तपाईको प्रतिक्रिया