बिहीबार १९ कार्तिक २०८३
समाज

अपराध नियन्त्रणलाई प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन, निष्पक्ष प्रहरी सेवामा आईजीपीको प्रतिबद्धता

बुधबार कार्तिक १८, २०८३/ Wednesday 11-04-26

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको पदबाट हटाउँदै केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री गुरुङले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा नागरिक सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए।

प्रहरी संगठन नागरिकसँग नजिक भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले नागरिकप्रति सम्मानजनक व्यवहार गर्न र प्रहरी सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न निर्देशन दिए।

गुरुङले डिजिटल रूपान्तरणसँगै बढिरहेका साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डीपफेक, संगठित अपराध तथा लागुऔषध कारोबारलाई सुरक्षा चुनौतीका रूपमा उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताए।

त्यस्तै, फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने गरी संगठन सञ्चालन गर्न पनि उनले निर्देशन दिए।

दर्ज्यानी चिन्ह ग्रहणपछि नवनियुक्त आईजीपी केसीले संविधान र कानुनप्रति प्रतिबद्ध रहँदै नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरि राखेर काम गर्ने बताए। उनले प्रहरी संगठनको मर्यादा, व्यावसायिकता र निष्पक्षतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।

केसीले प्रहरीका आधारभूत तहदेखि माथिल्लो तहसम्मका कर्मचारीका गुनासा सुन्न तत्काल प्रभावकारी संयन्त्र सुरु गर्ने जानकारी दिए।

 

तपाईको प्रतिक्रिया