बिहीबार १९ कार्तिक २०८३
खेलकुद

एनपीएलमा काठमान्डु गोर्खाजको सानदार जित, विराटनगर ९ विकेटले पराजित

बिहीबार कार्तिक १९, २०८३/ Thursday 11-05-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ।

विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमान्डुले ९.४ ओभरमा एक विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गर्‍यो।

काठमान्डुको जितमा अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले अविजित ४४ रन बनाए। उनले २४ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। त्यस्तै विलियम बोसिस्टोले २४ बलमा तीन चौकासहित अविजित २३ रन जोडे।

दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। ओपनर साहिल पटेल १० रन बनाएर आउट भए। विराटनगरका अपराजित पौडेलले एक विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा ८३ रनमै समेटिएको थियो।

विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले २२ तथा बसिर अहमदले १० रन बनाए।

विराटनगरको ब्याटिङ सुरुवातदेखि नै कमजोर रह्यो। ३५ रन जोड्दा सात विकेट गुमाएको टोलीलाई म्याथ्युज र रुपेशले आठौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै केही सम्हालेका थिए।

काठमान्डुका बलर सन्तोष यादवले तीन विकेट लिए। उनले तीन ओभरमा ११ रन खर्चिए। सहान अराचिगे र जहानदान खानले दुई-दुई विकेट हात पारे। करण केसी, शाह आलम र देव शाहले एक-एक विकेट लिए।

 

तपाईको प्रतिक्रिया