शुक्रबार २० कार्तिक २०८३
खेलकुद

एनपीएलमा आज सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा भिड्दै

शुक्रबार कार्तिक २०, २०८३/ Friday 11-06-26

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन्। चार खेलबाट दुई जित र दुई हार बेहोरेको सुदूरपश्चिम पाँचौँ खेल खेल्दैछ। प्लेअफ सम्भावना बलियो बनाउन टोलीलाई आजको जित महत्त्वपूर्ण हुनेछ।

यता तीन खेलबाट एक जित र दुई हार बेहोरेको कर्णाली याक्स पनि चौथो खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ।

आजको दोस्रो खेलमा साँझ ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँडेको छ। तीन अंकसहित तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको चितवन आज जित निकाल्दै आफ्नो स्थिति सुधार्न चाहन्छ।

अर्कोतर्फ पोखरा एभेन्जर्स प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा जित निकाल्न नसकेको पोखरा चितवनलाई पराजित गर्दै जितको खाता खोल्ने लक्ष्यसहित मैदान उत्रनेछ।

आजका दुवै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पार्ने भएकाले चारवटै टोलीका लागि जित महत्त्वपूर्ण रहनेछ।

 

तपाईको प्रतिक्रिया