धनतेरससँगै आजदेखि तिहार सुरु, सुनचाँदी किनमेलको चहलपहल
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ। धनतेरसका अवसरमा सुनचाँदीका गरगहना, सिक्का तथा तामा र पित्तलका भाँडाकुँडा किनेर घरमा भित्र्याउने परम्परा छ।
धनतेरसलाई धन, सम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन सुन, चाँदीलगायत धातुका सामग्री खरिद गर्दा शुभ हुने धार्मिक विश्वास छ। यही मान्यताका कारण धनतेरसमा बजारमा सुनचाँदीका गरगहना तथा धातुका सामग्रीको कारोबार बढ्ने गर्छ।
धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। बबरमहलस्थित राष्ट्र बैंकको कार्यालयबाट बिहीबारदेखि सुरु भएको सिक्का बिक्री आज पनि जारी रहनेछ।
यस वर्ष तिथिको घटबढका कारण तिहार पाँच दिनको सट्टा छ दिनसम्म मनाइँदै छ। चन्द्रमासअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म तिहार मनाउने परम्परा छ।
पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको हो। आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ। आइतबार बिहान कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष भाइटीका कात्तिक २५ गते परेको छ।
मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलन पनि छ। यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँ खरिद गर्ने परम्परा रहेको छ।
धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु तथा भाइपूजालगायत धार्मिक र सांस्कृतिक पर्वहरू उल्लासका साथ मनाइन्छ।
तपाईको प्रतिक्रिया