मनोज केसी प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सल्लाहकार बन्ने
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। यससँगै सरकारले निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएर प्रहरी नेतृत्व परिवर्तनको निर्णय गरेको हो। बुधबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रहरी संगठनको नेतृत्व परिवर्तन गरेको हो।
केसी र कार्की एउटै ब्याचीका प्रहरी अधिकारी हुन्। कार्कीलाई आईजीपीबाट हटाएर उनकै ब्याची केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा ल्याइएको छ।
कार्कीमाथि पछिल्लो समय विभिन्न विवादमा जोडिएको आरोप लाग्दै आएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भन्दै उनीमाथि प्रश्न उठाउँदै आएका थिए।
त्यस्तै, बिचौलियाका रूपमा चर्चामा आएका इनम सापकोटासँग कार्की र अर्का एआईजी राजन अधिकारीको सम्पर्क रहेको विवरण सार्वजनिक भएपछि प्रहरी संगठनको उच्च नेतृत्वमाथि थप प्रश्न उठेको थियो।
यसअघि सरकारले इनम सापकोटासँग सम्पर्कमा रहेको प्रमाण भेटिएको भन्दै सशस्त्र प्रहरीका एआईजी वंशीधर दाहाललाई समेत पदबाट बर्खास्त गरिसकेको थियो।
विवादास्पद व्यक्ति इनम सापकोटासँग उच्चपदस्थ अधिकारीहरूको सम्बन्ध जोडिएका विषय सार्वजनिक भएपछि सरकारमाथि प्रहरी संगठनको नेतृत्वबारे निर्णय लिन दबाब बढेको थियो। यही विवादका कारण मन्त्रिपरिषद् बैठकसमेत प्रभावित हुँदै आएको थियो।
यसअघि असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकपछि लामो समयसम्म बैठक बस्न सकेको थिएन। १८ दिनको अन्तरालपछि मंगलबार बसेको बैठकसँगै सरकारले पुनः नियमित कामकारबाही अघि बढाएको थियो।
तपाईको प्रतिक्रिया