शुक्रबार २० कार्तिक २०८३
खेलकुद

एनपीएल : सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य, जवाफमा कर्णालीको खराब सुरुवात

शुक्रबार कार्तिक २०, २०८३/ Friday 11-06-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको १६औँ खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि साइफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ब्रान्डन म्याकमुलेनले १६ बलमा २४, विनोद भण्डारीले २२ बलमा २७ तथा ईशान पाण्डेले १३ बलमा २३ रनको योगदान दिए ।

त्यस्तै थारिन्दु रत्नायकेले १२ बलमा अविजित २२ र स्कट कुगेलेइनले ६ बलमा अविजित १३ रन बनाए ।

कर्णालीका मार्क वाटले २ विकेट लिए भने नन्दन यादव, हुसेन तलात, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए ।

१७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले जवाफी ब्याटिङमा भने खराब सुरुवात गरेको छ । १४.३ ओभरको खेल सकिँदा कर्णालीले ५ विकेट गुमाएर ७३ रन मात्रै बनाएको छ ।

कर्णालीलाई जितका लागि अब ३३ बलमा १०४ रन आवश्यक छ । क्रिजमा डेभिड मिलर ३७ र कप्तान सोमपाल कामी ८ रन बनाएर खेलिरहेका छन् ।

कर्णालीका दीपक डुम्रेले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अनिल खरेल, थारिन्दु रत्नायके र स्कट कुगेलेइनले समान १ विकेट लिएका छन् ।

 

तपाईको प्रतिक्रिया