शुक्रबार २० कार्तिक २०८३
राजनीति

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि ७.५ खर्ब जुटाउन सरकारको पहल, भारत–चीनसँग संवाद

शुक्रबार कार्तिक २०, २०८३/ Friday 11-06-26

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने ६ देखि साढे ७ खर्ब रुपैयाँ जुटाउन सरकारले अन्तर्राष्ट्रिय वित्तीय तथा कूटनीतिक पहल अघि बढाएको बताएका छन् ।

पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने भन्दै उनले भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंकसँग स्रोत व्यवस्थापनका विषयमा संवाद भइरहेको जानकारी दिएका हुन् ।

सिंहदरबारमा शुक्रबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आवश्यक स्रोत जुटाउने प्रक्रिया सुरु भइसकेको बताए ।

उनका अनुसार पुनर्निर्माणका लागि आवश्यक कुल रकमको करिब ८० प्रतिशत भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंकबाट जुटाउने सरकारको अपेक्षा छ । बाँकी २० प्रतिशत अन्य विकास साझेदार तथा दातृ निकायबाट व्यवस्थापन गर्ने योजना रहेको उनले बताए ।

अन्तर्राष्ट्रिय परिस्थितिका कारण अनुदान सहायता घट्दै गएको उल्लेख गर्दै वाग्लेले सहुलियतपूर्ण ऋणसमेत विवेकपूर्ण ढंगले उपयोग गर्नुपर्नेमा जोड दिए । विगतमा अनुदानमा निर्भर रहेर विकास निर्माण अघि बढाइए पनि अहिले अनुदानको उपलब्धता निकै खुम्चिएको उनको भनाइ छ ।

भारतसँग पुनर्निर्माण तथा विकास निर्माणका लागि विशेष वित्तीय प्याकेजबारे छलफल भइरहेको उनले जानकारी दिए । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यससम्बन्धी केही सम्झौता हुन सक्ने अपेक्षासमेत उनले व्यक्त गरे ।

त्यस्तै, चीनसँग विपद्पछिको पुनर्निर्माण, आधुनिक पूर्वाधार निर्माण र वैकल्पिक व्यापारिक नाकाको विकासबारे छलफल भइरहेको अर्थमन्त्रीले बताए ।

रसुवा, तातोपानी र कोरला नाकालाई जोड्ने पूर्वाधार विकासका साथै रेलमार्ग, सुरुङमार्ग, भायाडक्ट र आधुनिक भन्सार संरचना निर्माणका विषयमा चीनसँग संवाद भइरहेको उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया