काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो ।
कर्णालीका डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा अविजित ९३ रन बनाए । उनले ५ चौका र ७ छक्का प्रहार गरे । तर, अन्य ब्याटरबाट अपेक्षित साथ नपाउँदा उनको उत्कृष्ट इनिङ्स टोलीको जितका लागि पर्याप्त हुन सकेन ।
दीपक डुम्रेले १२ बलमा १८ रन बनाए भने सोमपाल कामीले ८, नन्दन यादवले अविजित ५ र गुल्सन झाले ३ रन बनाए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ विकेट लिए । हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनाश बोहराले समान १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि साइफ जैबले सर्वाधिक ३५ रन बनाए । विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, ईशान पाण्डेले २३ तथा थारिन्दु रत्नायकेले अविजित २२ रनको योगदान दिए । स्कट कुगेलेइन १३ रनमा अविजित रहे ।
कर्णालीका मार्क वाटले २ विकेट लिए भने नन्दन यादव, हुसेन तलात, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए ।
९३ रनको अविजित इनिङ्स खेलेका कर्णालीका डेभिड मिलर प्लेयर अफ द म्याच घोषित भए ।
तपाईको प्रतिक्रिया