बिहीबार २६ कार्तिक २०८३
समाज

१४ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कारण खोज्न पाँच सदस्यीय समिति गठन

बिहीबार कार्तिक २६, २०८३/ Thursday 11-12-26

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर तथा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन्।

समितिले दुर्घटनाका विभिन्न पक्षबारे अनुसन्धान गर्नेछ। सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक स्थितिलगायत विषय छानबिनको दायरामा रहनेछन्।

त्यसैगरी, आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकायले अपनाउनुपर्ने उपायसमेत प्रतिवेदनमा समेटिनेछ।

प्रजिअ अधिकारीले भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताएका छन्। उनका अनुसार सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्न पर्याप्त छैन।

आज बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय गाडी चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

 

तपाईको प्रतिक्रिया