मंगलबार १ मङ्सिर २०८३
बिजनेस

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

सोमबार कार्तिक ३०, २०८३/ Monday 11-16-26

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा करिब ९९ अर्ब रुपैयाँ खर्च गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारले ऋणको साँवा र ब्याजबापत ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको हो।

सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विनियोजित बजेटको ठूलो हिस्सा आर्थिक वर्षको पहिलो तीन महिनामै खर्च भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार असोज मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ।

कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब ४६ प्रतिशत बराबर पुगेको कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिएका छन्।

सरकारले विकास आयोजना सञ्चालन तथा सार्वजनिक खर्च व्यवस्थापनका लागि आन्तरिक र वैदेशिक स्रोतबाट ऋण लिने गरेको छ। सार्वजनिक ऋण व्यवस्थापनअन्तर्गत ऋण उठाउने, सरकारी प्रत्याभूति दिने, ऋणको साँवा तथा ब्याज भुक्तानी गर्ने र आवश्यकताअनुसार ऋण पुनर्संरचना गर्ने कार्य पर्दछन्।

आन्तरिक ऋणलाई अल्पकालीन स्रोतका रूपमा लिइन्छ। यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र जारी गरी सरकारले स्रोत जुटाउने गरेको छ।

 

तपाईको प्रतिक्रिया