प्रधानमन्त्री बालेनले मोदीसँगको संयुक्त मिडिया ब्रिफिङमा के भने ? (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका छन् ।
सोमबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित संयुक्त मिडिया ब्रिफिङमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको बताएका हुन् ।
उनले शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र समयसापेक्ष बनाउने उद्देश्यले द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा गहन, सार्थक तथा दूरगामी छलफल भएको उल्लेख गरे ।
प्रधानमन्त्री शाहले नेपाल–भारतबीच भएका समझदारी र अघि बढाइएका विकास आयोजनाको प्रत्यक्ष लाभ दुवै देशका नागरिकले पाउनुपर्नेमा जोड दिए । उनका अनुसार दुई देशबीच भएका सहमतिको प्रतिफल किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर, विद्यार्थीका लागि नयाँ सम्भावना तथा उद्यमीका लागि लगानी र व्यावसायिक विस्तारका रूपमा देखिनुपर्छ । उनले यी ऐतिहासिक उपलब्धिले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरे ।
प्रधानमन्त्री शाहले हिमालयबाट बग्ने नदीहरूले दक्षिण एसियाका करोडौँ मानिसलाई जीवन प्रदान गरिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको बताए । नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत रूपमा जोडिएको उल्लेख गर्दै उनले नयाँ रेल सेवा सञ्चालनले दुई देशबीचको निकटतालाई थप जीवन्त बनाउने धारणा राखे ।
उनले आपसी विश्वास, सहकार्य र साझा समृद्धिका आधारमा परम्परागत सम्बन्धलाई नयाँ युगअनुकूल विकास साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । नेपालको आर्थिक समुन्नतिमा साझेदारी गर्न भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि स्वागत गर्दै प्रधानमन्त्री शाहले दुवै देशका नागरिकको आवागमन सहज बनाउन नेपाल र भारतका प्रमुख सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने प्रस्तावसमेत अघि सारे ।
त्यसैगरी, नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन् । उनले भारतीय नागरिकलाई पनि नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न नेपाल आउन आग्रह गरे ।
यस क्रममा उनले मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, काठमाडौंस्थित जीवित देवी कुमारीको निवास तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न भारतीय नागरिकलाई निमन्त्रणा दिएका थिए ।
प्रधानमन्त्री शाहले दुई देशको साझा भविष्य र समृद्धिका लागि तयार गरिएको संयुक्त दृष्टिकोण दस्तावेज (Joint Vision Document) तथा संयुक्त प्रेस विज्ञप्तिमार्फत द्विपक्षीय उपलब्धिहरू सार्वजनिक गरिने जानकारीसमेत दिए ।
सम्बोधनको अन्त्यमा उनले नेपाल–भारत मित्रता हिमालझैँ अग्लो विश्वास र नदीझैँ अविरल सहकार्यमा आधारित हुनुपर्ने बताउँदै दुवै देशको साझा समृद्धिको कामना गरेका थिए ।
तपाईको प्रतिक्रिया