सोमबार ७ मङ्सिर २०८३
अर्थ

शेयर बजारमा सामान्य वृद्धि, नेप्से २.२६ अंकले बढ्यो

सोमबार मङ्सिर ७, २०८३/ Monday 11-23-26

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२६ अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, विकास बैंक, लगानी र अन्य समूहको उपसूचक बढ्दा बाँकी सबै समूह घटेका छन् । कारोबार भएका कम्पनीमध्ये १०६ वटाको शेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

आज मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै साढे १० प्रतिशतले बढेको छ । यता भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयर मूल्य झन्डै साढे ८ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ । गत शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा आज ३६० वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया