सोमबार ७ मङ्सिर २०८३
राजनीति

नेपाललाई भारतको २ खर्ब ४० अर्बको विकास प्याकेज, दुई बन्दरगाह प्रयोग गर्न पाउने

सोमबार मङ्सिर ७, २०८३/ Monday 11-23-26

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहकार्य प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ ।

सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाहसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्याकेज घोषणा गरेका हुन् । मोदीका अनुसार उक्त रकम नेपालको पुनर्निर्माण, दीर्घकालीन विकास तथा भविष्यमा आउन सक्ने विपद्सँग जुध्ने क्षमता अभिवृद्धिमा उपयोग गरिनेछ ।

यद्यपि घोषित रकममध्ये कति अनुदान र कति ऋण हुने तथा कुन आयोजनामा कति खर्च गरिने भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

यसैगरी, नेपालले भारतका गुजरातस्थित कान्डला र ओडिसास्थित पारादीप बन्दरगाह पारवहन व्यापारका लागि प्रयोग गर्न पाउने भएको छ । यसले तेस्रो मुलुकसँगको आयात–निर्यातमा नेपाली व्यवसायीलाई थप वैकल्पिक मार्ग उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

भारतले नेपालमा प्रतिष्ठित प्राविधिक शिक्षण संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना गर्न सहयोग गर्ने घोषणा पनि गरेको छ । साथै, स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब, कृषि औद्योगिक पार्क स्थापना तथा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति विस्तारमा सहयोग गर्ने जनाएको छ ।

नेपाली क्रिकेटको विकासका लागि पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा सहयोग गर्ने प्रतिबद्धता पनि भारतले जनाएको छ ।

भ्रमणका क्रममा ऊर्जा तथा यातायात क्षेत्रका महत्वपूर्ण आयोजनाको उद्घाटन र शिलान्याससमेत भएको छ । भारतको अयोध्या र नेपालको जनकपुर जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको शुभारम्भ गरिएको छ भने धार्चुला–दार्चुला जोड्ने महाकाली नदीमाथिको मोटर चल्ने पुल उद्घाटन भएको छ ।

त्यस्तै, भारतको बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास तथा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको लोकार्पण गरिएको छ । झापामा नयाँ पेट्रोलियम भण्डारण टर्मिनलको पनि शिलान्यास भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले अरुण तेस्रो जलविद्युत आयोजना समयमै सम्पन्न गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपाल र भारतले साझा भविष्य, विकसित भारत र समुन्नत नेपालको लक्ष्यसहित संयुक्त दृष्टिपत्र जारी गरेको जानकारीसमेत दिए ।

भ्रमणका क्रममा भएका घोषणालाई नेपाल–भारत आर्थिक तथा विकास साझेदारीका दृष्टिले महत्वपूर्ण मानिएको छ । तर विकास प्याकेजको वित्तीय स्वरूप, कार्यान्वयन समयसीमा र आयोजनागत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

यसैबीच, नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेश मार्गको विषयमा भने भारतीय पक्षबाट ठोस घोषणा हुन सकेन ।

 

तपाईको प्रतिक्रिया