नेपाल एसबीआई बैंकद्वारा कुपण्डोलस्थित गुरुद्वारामा एटीएम सेवा विस्तार
गुरु नानक सत्संग समितिमा बाल पुस्तकालय स्थापनाका लागि एसबीआईको साथ
काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समितिको परिसरमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सोमबार आयोजित एक कार्यक्रमबीच उक्त एटीएम सेवाको उद्घाटन गरेका हुन्।
कार्यक्रममा गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय विकास अधिकृत प्रवीण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठलगायत बैंक तथा गुरुद्वाराका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
गुरुद्वाराको परिसरमा एटीएम सेवा सञ्चालनमा आएसँगै त्यहाँ आउने भक्तजन, स्थानीय बासिन्दा तथा बैंकका ग्राहकलाई सहज रूपमा आधुनिक बैंकिङ सेवा प्राप्त हुने बैंकले विश्वास लिएको छ। यसले बैंकिङ सेवाको पहुँच विस्तार गर्नुका साथै नगद कारोबारलाई थप सहज र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ।
यसैगरी, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत गुरुद्वारा गुरु नानक सत्संग समिति परिसरमा बाल पुस्तकालय स्थापना गर्न आवश्यक सामग्रीसमेत सहयोग गरेको छ।

बालबालिकामा ज्ञान, शिक्षा तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले उपलब्ध गराइएको उक्त सामग्री बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत तिवारीले गुरुद्वाराका अध्यक्ष सिंहलाई हस्तान्तरण गरेका थिए।
बैंकका अनुसार उक्त पहलले शिक्षा प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा सामुदायिक कल्याणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०४ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र र १२७ एटीएममार्फत सेवा सञ्चालन गरिरहेको छ।
तपाईको प्रतिक्रिया