दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आइपुगेका हुन्।
भारतबाट प्रस्थान गर्नुअघि उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतका अधिकारीहरूले विमानस्थलमा बिदाइ गरेका थिए।
प्रधानमन्त्री शाह आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणमा गएका थिए। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, आर्थिक सहकार्य, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको थियो।
त्यसैगरी, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए भने महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, सरकारी कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भू-उपग्रह सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्य विकाससम्बन्धी आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्।
दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित सम्पन्न भ्रमणमा प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाहलगायत सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए।
तपाईको प्रतिक्रिया