स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने
काठमाडौं । स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन अब भौतिक परिचयपत्र अनिवार्य नहुने भएको छ। स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा समेत उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्र पठाउँदै भौतिक कार्ड नभएको कारण देखाएर बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो।
नयाँ व्यवस्थाअनुसार बीमितले भौतिक परिचयपत्र, डिजिटल कार्ड वा कार्डमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपी प्रस्तुत गरेर स्वास्थ्य बीमाको सेवा लिन सक्नेछन्। स्वास्थ्य संस्थाले भने बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँच गरी सम्बन्धित व्यक्ति बीमामा आबद्ध रहेको पुष्टि गर्नुपर्नेछ।
बीमामा आबद्ध रहेको यकिन भएपछि नियमानुसार उपचार सेवा उपलब्ध गराउन बोर्डले निर्देशन दिएको छ। यसअघि स्वास्थ्य बीमाको सेवा लिन अस्पतालमा भौतिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था थियो।
नयाँ निर्णयले परिचयपत्र हराएका, घरमै छुटेका वा अन्य कारणले कार्ड साथमा नभएका बीमितलाई उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। बोर्डका प्रवक्ता पवनकुमार शाहले पनि यस व्यवस्थाले बीमितलाई अस्पतालमा सेवा लिन थप सहज बनाउने बताएका छन्।
तपाईको प्रतिक्रिया