चार महिनामै नेपालको व्यापार घाटा ६ खर्ब ६८ अर्ब, आयात–निर्यात दुवैमा वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। साउनदेखि कात्तिकसम्म आयात र निर्यात दुवै बढ्दा कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले वृद्धि भएर ९ खर्ब ३७ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ थियो।
चालु आर्थिक वर्षको चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँको आयात भएको थियो। यससँगै आयात ३१.७७ प्रतिशतले बढेको छ।
निर्याततर्फ भने अझ उच्च वृद्धि देखिएको छ। समीक्षा अवधिमा नेपालबाट १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको पहिलो चार महिनामा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको निर्यात भएकोमा यस वर्ष ४३.४८ प्रतिशतले वृद्धि भएको हो।
निर्यातमा उल्लेख्य सुधार आए पनि आयातको आकार ठूलो हुँदा व्यापार घाटा बढेको छ। चालु आर्थिक वर्षको कात्तिकसम्म व्यापार घाटा ६ खर्ब ६८ अर्ब ९५ करोड २९ लाख रुपैयाँ पुगेको छ। यो गत वर्षको सोही अवधिको ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँको तुलनामा २९.६५ प्रतिशत बढी हो।
यद्यपि, निर्यातको वृद्धिदर आयातभन्दा बढी हुँदा आयात–निर्यात अनुपातमा सुधार आएको छ। गत वर्ष ६.५२ रहेको यस्तो अनुपात यस वर्ष ५.९९ मा झरेको छ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। गत वर्ष १३.३० प्रतिशत रहेको निर्यातको हिस्सा चालु वर्ष १४.३१ प्रतिशत पुगेको छ। त्यसैगरी, कुल व्यापारमा आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा सीमित भएको भन्सार विभागले जनाएको छ।
तपाईको प्रतिक्रिया